close

टिकटक बन्द गराउने अभियानमा मधेसी युवा

टेकपाना टेकपाना

भदौ १६, २०७९ ९:२२

टिकटक बन्द गराउने अभियानमा मधेसी युवा

काठमाडाैं । सामाजिक सञ्जाल टिकटकका कारण विकृति बढेको भन्दै मधेश प्रदेशका युवा टिकटक बन्द गराउने अभियानमा लागेका छन् । युवाले टिकटक पूर्ण रूपमा बन्द हुनुपर्ने माग राख्दै प्रदेशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् ।

महोत्तरीबाट सुरु भएको ज्ञापनपत्र बुझाउने अभियान धनुषा, सिरहा, सप्तरी र रौटहटलगायतका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखलाई बुझाइसकिएको छ ।

सम्बन्धित जिल्लाका स्थानीय युवाले अभियानको अगुवाइ गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । टिकटकमा अश्लील गतिविधि बढ्दै गएको उनीहरूको दाबी छ ।

टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नुपर्ने, टिकटक भगाऔँ, आफ्नो संस्कृति बचाऔँको नारा लगाउँदै धनुषा र सिरहामा प्रदर्शन गरिएको छ ।

धार्मिक स्थलमा टिकटक प्रयोगकर्ताले धर्मको उपहास गर्न थालेपछि बन्द गराउने अभियानमा लागेको महोत्तरीका अभिजित दासले बताए ।

थोरै समयमा बढी भ्यु, लाइक, कमेन्ट पाउने लोभमा युवतीहरू अश्लील भोजपुरी, हिन्दी गीतमा नृत्य गरेर टिकटकमा पोस्ट गर्ने, अबेर राति लाइभ आएर युवासँग अश्लिल कुराकानी गर्ने गरेको दाबी उनको छ ।

“देशका कर्णधार मानिने किशोरकिशोरी र बालबालिकासमेत टिकटकको लतमा फसेर भविष्य बिगार्नेतर्फ अग्रसर भएकाले भारतमा जस्तै यो एपलाई नेपालमा पनि प्रतिबन्ध लगाउनुपर्छ,” धनुषाका शम्भु पण्डितको कथन छ ।

नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रशारण गर्न नहुने, कसैप्रति घृणा फैलाउने, कुनै पनि सम्प्रदायबीच सम्बन्ध बिगार्ने, भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन, प्रसारण वा प्रदर्शन गर्न नहुने स्पष्ट हुँदाहुँदै यस प्रकारको गतिविधि बढ्दै गएको उनको तर्क छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा १ मा कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमबाट प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने सामग्री सार्वजनिक गर्न नहुने उल्लेख छ । तर यो साइबर कानुनमाथि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।

जनकपुरका युवा अभियन्ता सरोज मिश्रले सामाजिक सञ्जालबाट बढेको विकृतिविरुद्ध अभियान चलानुपर्ने, तर सामाजिक सञ्जाल नै बन्द गर्नु नहुने बताए ।

“सामाजिक सञ्जालमा सकारात्मक सन्देश समेटिएको हुन्छ । टिकटकमा कतिपय सामग्री सामाजिक रूपमा स्वीकार्य हुने खालका हुँदैनन्, त्यस्तालाई कारबाही हुनुपर्छ,” मिश्रले भने ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३