close

युट्युब भिडिओका लागि कस्तो म्युजिक छान्ने ?

टेकपाना टेकपाना

साउन १०, २०७९ २२:३२

युट्युब भिडिओका लागि कस्तो म्युजिक छान्ने ?

काठमाडौं । हामीले दैनिक भिडिओ हेर्नका लागि युट्युब, नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लसजस्ता एप तथा साइट प्रयोग गरिरहेका हुन्छौं । यीमध्ये सर्वाधिक प्रयोग गरिने प्लेटफर्म हो, युट्युब ।

युट्युबमा दैनिक भिडिओ हेरिरहँदा हामीलाई पनि कता कता आफैँले बनाएका भिडिओ अपलोड गर्न मन लागेको हुन्छ । प्रायःले युट्युबमा आफूले बनाएका भिडिओ पनि अपलोड गरेका छौं होला ।

भिडिओ बनाउँदा त्यसमा ब्याकग्राउण्ड म्युजिक (पृष्ठभूमिमा बज्ने संगीत) को भूमिका पनि निकै महत्त्वपूर्ण हुन्छ । ब्याकग्राण्ड म्युजिकले भिडिओका लागि सुनमा सुगन्ध थप्ने काम गरेको हुन्छ ।

जसरी हामीले भिडिओ निर्माण गर्न सक्छौं, त्यसरी म्युजिक (संगीत) निर्माण गर्न सक्दैनौं । वा, भनौं आकर्षक संगीत निर्माण गर्न त्यति सहज पनि हुँदैन । त्यस्तो अवस्थामा हामी अरूले प्रयोग गरेका म्युजिक प्रयोग गर् सक्छौँ । यस्तो अवस्थामा कतिपय म्युजिकमा कुनै समस्या आउँदैन । तर, कतिपय म्युजिकमा कपीराइट लाग्न सक्छ ।

कपीराइट भनेको एक किसिमको कानूनी अधिकार हो, जसलाई नेपालीमा प्रतिलिपि अधिकार भनिन्छ ।

यो त्यस्तो किसिमको अधिकार हो, जसले सम्बन्धित व्यक्ति वा संस्थालाई उसको क्रियसन (सिर्जनात्मक काम) मा उसैको स्वामित्व छ भन्ने अंकित गरेको हुन्छ । युट्युबमा जसरी अरूको भिडिओ राख्दा कपीराइट लाग्छ, त्यसरी नै अरूको म्युजिक प्रयोग गर्दा पनि कपीराइट लाग्छ

आज हामी कसरी युट्युबमा म्युजिक कपीराइट लाग्छ र कानूनी तरिकाले कस्ता म्युजिक कहाँबाट प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

युट्युब तथा अन्य विभिन्न प्लेटफर्ममा निःशुल्क उपलब्ध हुने कपीराइट फ्रि म्युजिकको कमी छैन । तर, कतिपय चर्चित गीत वा त्यसको म्युजिक प्रयोग गर्दा भने कपीराइट लाग्न सक्छ ।

युट्युबको कपीराइटले कसरी काम गर्छ ?

युट्युबले कन्टेन्ट आईडी भनिने एउटा बलियो प्रिलिपि अधिकार प्रणाली प्रयोग गरेको हुन्छ, जसले सङ्गीतको स्रष्टालाई उनीहरूको काम सुरक्षित राख्न र त्यसैबाट आम्दानी गर्न सघाएको हुन्छ ।

सङ्गीतकारले अन्य व्यक्तिलाई आफूले निर्माण गरेका संगीत प्रयोग गरेर आम्दानी गर्न सक्छन् । यदि तपाईंले अरूको कपीराइट म्युजिक प्रयोग गर्नुभयो भने यी कुरा हुन सक्छन्;

  • तपाईंको भिडिओमा बढी विज्ञापन देखिन सक्छन् ।
  • तपाईंले आफ्नो भिडिओ मोनिटाइज गर्न सक्नुहुन्न ।
  • तपाईंको भिडिओ केही देशमा ब्लक हुन्छ ।
  • भिडिओमा भएको अडियो म्युट हुन सक्छ ।

भिडिओ विश्वव्यापी रूपमा ब्लक हुन सक्छ ।

प्रायः म्युजिक क्रियटर कपीराइट भएका म्युजिक प्रयोग गरेपश्चात् त्यस भिडिओमा बज्ने विज्ञापनको पैसा लिने गर्छन् । जसलाई अर्को अर्थमा एड एक्स्चेन्ज (Ad Exchange) भन्ने गरिन्छ ।

कपीराइट म्युजिक कति किसिमका हुन्छन् र तिनलाई कसरी प्रयोग गर्न सकिन्छ ।

म्युजिक क्रियटरले विशेषगरी तीन किसिमले आफ्नो कपीराइट म्युजिक उपलब्ध गराउन सक्छन् ।

क्रियटिभ कमन म्युजिक

प्रायः सङ्गीतकारहरूले आफ्नो म्युजिक क्रियटिभ कमन्स लाइसेन्स (Creative commons license) मार्फत वितरण गर्ने गर्छन् । यस्ता म्युजिक निःशुल्क प्रयोग गर्न सकिन्छ ।

तर, कस्तो किसिमको लाइसेन्स उपलब्ध छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसका लागि सम्बन्धित व्यक्तिलाई क्रेडिट दिनुपर्ने हुन्छ भने व्यावसायिक परियोजनाका लागि प्रयोग गर्न पाइँदैन ।

यदि तपाईं आफ्नो भिडिओ मोनिटाइज गर्न चाहनुहुन्छ भने यो उपयुक्त तरिका नहुन सक्छ ।

विज्ञापन सपोर्ट गर्ने भिडिओ

प्रायः सङ्गीतकार तथा सम्पादकले युट्युबसँग उनीहरूको म्युजिक कतै प्रयोग भएको खण्डमा एड एक्सेन्ज (सो भिडिओमा बजेका विज्ञापनको रकम बाँड्ने) गर्ने सम्झौता गरेका हुन्छन् ।

यदि तपाईं आफ्नो भिडिओमा विज्ञापनबाट आएको केही रकम सङ्गीतकारलाई दिन चाहनुहुन्छ भने यो तपाईँका लागि उपयुक्त हुन सक्छ ।

लाइसेन्स्ड म्युजिक

एउटा यस्ता म्युजिक प्रयोग गर्न तपाईंले सङ्गीतकारलाई ईमेल पठाएर प्रयोग गर्ने अनुमति मागेको हुनुपर्छ ।

त्यस्तै अर्को भनेको रोयल्टी फ्रि म्युजिक हुन्छ । यस्ता संगीत आफ्नो व्यक्तिगत वा व्यवसायीक प्रयोजनका लागि निःशुल्क प्रयोग गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो भिडिओ मनिटाइज गर्न चाहनुहुन्छ भने यो तपाईँका लागि उपयुक्त विकल्प हुन्छ । तर, त्यसका लागि कुन म्युजिक रोयल्टी फ्रि हो भन्ने विषयमा जानकारी हुन आवश्यक छ ।

तपाईंले कुनै पनि कपीराइट म्युजिक अनाधिकारिक रूपमा प्रयोग गर्न सक्नुहुन्न । यदि तपाईंलाई कपीराइट फ्री म्युजिक चाहिएका छन् भने युट्युब म्युजिकमार्फत त्यस्ता म्युजिक/साउन्ड पाउन सक्नुहुन्छ ।

युट्युब कपीराइट म्युजिक यहाँबाट खोज्नुहोस् ।

  • सबैभन्दा पहिले वेब ब्राउजरमा गई युट्युबमा जानुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।
  • योर च्यानलमा जानुहोस् ।
  • अब पुनः पहिले भएको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि युट्युब स्टुडियोमा क्लिक गर्नुहोस् ।
  • अनि बायाँपट्टि तपाईंको प्रोफाइलको तल स्क्रोल गर्दै जानुभयो भने अडियो लाइब्रेरीको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरेर आफूलाई उपयुक्त हुने म्युजिक छान्न सक्नुहुन्छ ।
  • अथवा सिधै याे लिंक गरेर युट्युब अडियाे लाइब्रेरीमा जान सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३