+
+

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो  

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० वैशाख २२ गते २२:१६

२२ वैशाख, काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ ।

यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य दरमा घटेको छ । समग्रमा हवाई इन्धनबाहेक अन्य सबै इन्धनको आयात घट्दो दरमा देखिएको छ । तर, मूल्य वृद्धिका कारण आयातबापत विदेशिने रकमको परिमाण भने उस्तै छ ।

नेपाल आयल निगमकाअनुसार चालु आर्थक वर्ष २०७९/८० मा इन्धनको कुल आयातको परिमाण १६.४४ प्रतिशतले घटेको छ । तर, सबै खालका खनिज इन्धन आयातका लागि खर्च हुने पैसा भने ०.४२ प्रतिशतले बढेको छ ।

गत साउनदेखि १७ वैशाखसम्मको तथ्यांकअनुसार पेट्रोल आयातमा ८.७७ प्रतिशतको गिरावट आएको छ । निगमले यो अवधिमा ५ लाख ३२ हजार २०८ किलोलिटर पेट्रोल आयात गरेको छ । यसअनुसार मासिक औसत ५६ हजार २१ किलोलिटर पेट्रोल खपत भएको देखिन्छ ।

यस्तै डिजेलको आयात परिमाण २६.०९ प्रतिशतले घटेको छ । यो वर्ष कुल १० लाख ३६ हजार ६७ किलोलिटर डिजेल आयात गरेको निगमले मासिक औसत १ लाख ९ हजार ५९ किलोलिटर इन्धन आयात गरेको देखिन्छ ।

मट्टितेल आयात पनि घटेको छ । मट्टितेल आयातमा ४.१२ प्रतिशतले कमी आएको छ । साउनयता ९ हजार ६४ किलोलिटर मट्टितेल आयात हुँदा मासिक औसत ९५४ किलोलिटर मात्रै मट्टितेल भित्रिएको देखिन्छ ।

खाना पकाउने ग्याँसको आयात समेत घटेको छ । यो अवधिमा ग्याँसको आयात ३.१३ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा कुल ४ लाख ६ हजार ७८५ मेट्रिकटन ग्याँस आयात हुँदा मासिक औसत ४२ हजार ८१९ मेट्रिक टन ग्याँस खपत भइरहेको देखिन्छ ।

हवाई इन्धनको आयातमा भने वृद्धि भएको छ । निगमका अनुसार यो वर्ष हवाई इन्धन आयात १३.६४ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ४१ हजार ३४० किलोलिटर हवाई इन्धन आयात भएको छ । यसअनुसार मासिक हवाई इन्धनको खपत औसत १४ हजार ८७७ किलोलिटर पुगेको देखिन्छ । कोरोना महामारीपछि घटेको हवाई गतिविधि विस्तारै बढ्दै गएकाले हवाई इन्धनको आयात गतवर्षभन्दा बढी देखिएको हो ।

निगमकाअनुसार यो वर्ष मात्रै २ खर्ब २४ अर्ब ५७ करोड ५७ लाख १३ हजार ७२५ रुपैयाँ बराबरको इन्धन आयात भइसकेको छ । यो गतवर्षको यही अवधिको तुलनामा करिब ०.४ प्रतिशतले बढी हो । रसिया–युक्रेन युद्धपछि इन्धनको मूल्य उच्च भएका कारण आयात हुने परिमाण घट्दा पनि विदेशिने रकम भने घट्न सकेको छैन ।

कन घट्यो इन्धन खपत ?

निगमका प्रवक्ता मनोज ठाकुर आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान नहुँदा इन्धन आयात घटेको बताउँछन् । ‘जति बढी आर्थिक गतिविधि चलायमान हुन्छ, उतिनै इनधन बढी खपत हुने हो,’ उनी भन्छन्, ‘यो वर्ष निर्माण क्षेत्रमा देखिएको मन्दीको असरले पनि यस्तो हुन पुगेको हो ।’

उनका अनुसार जति धेरै आयोजनाहरुमा निर्माणको कामले गति लिन्छ, त्यहाँ इन्धनको खपत र सामान ढुवानी बढ्छ । त्यसका कारण इनधनको माग बढेर आयात पनि बढ्न पुग्छ । तर, चालु आर्थिक वर्षमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असरका कारण निर्माणका कामहरु प्रभावित भए । यो वर्ष सरकार र निजी क्षेत्रले इन्धन खर्च पनि कटाैती गरेको छ भने भारतीय बजारमा तेल सस्तो हुँदा पनि सीमा क्षेत्रमा भारत पुगेर तस्करीको तेल ल्याएर बिक्री गर्ने क्रम पनि बढेको छ ।

‘बजारमा पैसा छैन, उत्पादनहरुको माग घटेको छ, उद्योगहरु पूर्ण क्षमतामा चलेका छैनन् औद्योगिक उत्पादन घटेको छ, उत्पादन घटेपछि ढुवानीमा असर परेको छ,’ ठाकुर भन्छन्, ‘ग्याँस नै खपत गर्ने उद्योगहरुले पनि उत्पादन कटौती गरेर सकेका छन्, उद्योगहरुले जेनेरेटर चलाउन कम गरेका छन् ।’

ठाकुर विद्युतीय गाडी र चुलोको असरले आयात घट्ने क्रम सुरु भएको भन्ने तर्कसँग भने सहमत छैनन् । पेट्रोलियम पदार्थको आयात नै घटाउने गरी विद्युतीय गाडी नचलेको उनको तर्क छ ।

गत वर्ष भएको राष्ट्रिय जनगणनाले ५ प्रतिशत परिवारले विद्युतीय चुल्हो प्रयोग गरेको देखाएपनि त्यसले ग्यास आयात नै घटाउनेसम्मको अवस्था नआएको उनको दाबी छ । ‘विद्युतीय चुल्हो वैकल्पिक रुपमा प्रयोग गर्नेहरु बढी छन्, ग्याँसको प्रयोग छोड्न सक्ने अवस्था बनिसकेको छैन,’ उनले भने, ‘सरकारले विद्युतको प्रयोग बढाएर इनधन आयात घटाउने गरी प्रभावकारी नीति ल्याएमा त्यसले देशलाई लाभ हुन्छ, इन्धन आयातमा खर्च हुने विदेशी मुद्रा जोगिन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?