close

प्रतिबन्धका बावजुद रोकिएन क्रिप्टो कारोबार, आईएमई पेको नाम जोडिएपछि बजारमा हलचल

टेकपाना टेकपाना

जेठ १३, २०७९ १८:३

प्रतिबन्धका बावजुद रोकिएन क्रिप्टो कारोबार, आईएमई पेको नाम जोडिएपछि बजारमा हलचल

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा आईएमई पेको संलग्नता रहेको जस्तो देखिने गरी बाइनान्सको घोषणा सार्वजनिक भएसँगै नेपालको डिजिटल भुक्तानी क्षेत्रमा हलचल मच्चिएको छ । विभिन्न किसिमका क्रिप्टोकरेन्सी एक्सचेन्जको काम गर्दै आएको बाइनान्सले आईएमई पे क्रिप्टोकरेन्सी खरिद बिक्रीका लागि पीटुपी (एउटा व्यक्तिले अर्को व्यक्तिलाई गर्ने भुक्तानी) भुक्तानी सेवाप्रदायकको रुपमा आवद्ध रहेको उल्लेख गरेको छ ।

यही २४ मे का दिन बाइनान्सको आधिकारिक वेबसाइटमार्फत नेपाली रुपैयाँबाट क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने माध्यमको रुपमा आईएमई पेलाई ‘बाइनान्स पीटुपी सपोर्ट’ लिस्टमा राखिएको छ । “बाइनान्स पीटुपीले आईएमईपेलाई नेपाली रुपैयाँ बजारमा क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्ने माध्यमको रुपमा ‘सपोर्टेड पेमेन्ट मेथड’को सूचीमा थप गरिएको छ,” बाइनान्सको वेबसाइटमा लेखिएको छ ।

“यससँगै प्रयोगकर्तालाई आईएमई पे डिजिटल वालेटमार्फत क्रिप्टोकरेन्सीको व्यापार गर्ने अनुमति दिनेछ ।” तर आईएमईपे डिजिटल सोलुसन लिमिटेडले भने बिहीबार सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सी, बिटक्वाइन, वानएक्स बेट तथा बाइनान्स जस्ता अवैधानिक गतिविधि गर्ने गराउनेसँग आफ्नो कुनै सहकार्य नरहेको प्रष्टिकरण दिएको छ ।

टेकपानासँगको कुराकानीमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास नाहाटाले यस विषयमा आफूहरूले समेत अनुसन्धान गरेको बताए । “हामीले यो विषयमा बाइनान्सलाई पत्राचार गरिसकेका छौँ र नेपाल राष्ट्र बैंकलाई पनि त्यसको जानकारी दिइसकेका छौँ,” उनले भने, “त्यो हामीले गरेको भन्दा पनि आईएमई पेको कुनै प्रयोगकर्ताले बाइनान्समा आफ्नो वालेट अकाउन्ट राखेर कारोबार गर्न खोजेको जस्तो खबर आएको छ ।”

उनका अनुसार कसैले आईएमई प्रयोगकर्ता मध्ये एउटाले अर्को व्यक्तिलाई पठाउने, पैसा पाउने व्यक्तिले बाइनान्समा अन्तर्राष्ट्रिय खाता खोलेको हुने र उसैले रकम जम्मा गर्न सकिने किसिमको सिस्टम बनाइएको छ । पीटुपी कारोबारका लागि वालेटहरूसँग पूर्व स्वीकृति लिइरहनु पर्दैन ।

तर पनि व्यक्तिगत कारोबार  गर्दा त्यसको  विवरण अनिवार्य रुपमा खुलाउन भनिएको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद भट्टराई बताउँछन् । आईएमई पेलाई पीटुपी कारोबार गर्ने माध्यमको रुपमा बाइनान्सको वेबसाइटमा घोषणा गरिएको विषय आफूहरूको जानकारीमा आएको उनको भनाई छ ।

“अहिले नै हामी आईएमईपेले नै  गल्ती गरेको हो भन्न सक्ने अवस्थामा हामी पुगिसकेका छैनौँ । उसको सम्पर्क र संलग्नता बिना नै त्यो काम भएको जस्तो देखिन्छ,” टेकपानासँगको कुराकानीमा भट्टाराईले भने, “तर दर्जनौँ वालेटहरू सञ्चालनमा रहेको अवस्थामा आईएमई पेको नाम मात्रै किन आयो भन्ने कुरा पनि छ । कतै यसको सिस्टम कमजोर भएर हो कि, कतै त्यस किसिमका कारोबारका लागि यो सहज भएर हो कि, भन्ने कुरा पनि छ ।” 

“भोलि कारोबार गर्ने व्यक्तिले गलत सूचना प्रविष्ट गरेर कारोबार गरेको पत्ता लागेको खण्डमा त्यस्ता व्यक्तिहरू कारबाहीको भागिदार हुने निश्चित छ,” उनी भन्छन्, “यस किसिमका गतिविधि मौलाउन नदिनका लागि हामीले दैनिक कारोबार सङ्ख्या र रकममा सीमा लगाइदिएका छौँ । यद्यपि उपल्लो सीमामा रहेर कसैले नियमित कारोबार गरिरहेको छ भने त्यस्तो अवस्थामा भुक्तानी सेवाप्रदायकहरूले चनाखो भएर रोक लगाउन सक्छन् ।” 

त्यसो त बाइनान्सको वेबसाइटमा आईएमई पे मात्र नभएर, ईसेवा, खल्ती, बैंक ट्रान्सफर, बैंकमा नगद जम्मा, मोबाइल टपअपलाई समेत  ‘बाइनान्स पीटुपी मेथड’मा समावेश गरेको छ । यस विषयले पनि आफूहरूलाई अर्को कोणबाट समेत सोच्न बाध्य बनाएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

“यी सबै विषयमा हाम्रो प्राविधिक टिमले अध्ययन गरिरहेको छ,” उनले भने, “राष्ट्र बैङ्कले यस किसिमका कारोबार गैरकानूनी भएको कुरा बारम्बार भन्दै आएको छ । त्यस्ता कारोबार डिजिटल माध्यमबाट गरियो भने त्यसमा संलग्न हुनेहरू कुनै पनि बेला समस्यामा पर्न सक्छन् । यस्तो अवस्थामा उनीहरूका सबै बैंकिङ कारोबार अवैध ठहर हुन सक्छन् । यसका लागि राष्ट्र बैंकसँगै २७ ओटै भुक्तानी सेवाप्रदायक र १० ओटा भुक्तानी प्रणाली सञ्चालकहरूमार्फत सचेतना जगाउने अभियान समेत चलाउन खोजिरहेका छौँ । जसले गर्दा भोलिको दिनमा यस किसिमका कारोबारहरू घट्न सक्लान् कि ।”

कतिपय देशहरूमा क्रिप्टोकरेन्सी, वान एक्स बेट र बाइनान्स जस्ता माध्यमहरू वैध समेत रहेका छन् । “त्यस्तो देशको नागरिक नेपाल भ्रमणमा आयो र होटलको भुक्तानी बिटक्वाइनमा गर्न खोज्यो भने हामीले स्वीकार गर्न मिल्दैन । यसैगरी हामी एल साल्भाडोर गयौँ भने त्यहाँ बिटक्वाइन समेत स्वीकार गर्छौँ भन्लान् । तर हामीले बिटक्वाइन तिर्ने कुरा हुँदैन ।”

आईएमई पेले नेपालमा बिटक्वाइनको कारोबार अवैध रहेको भन्दै बाइनान्सलाई ईमेलमार्फत पत्राचार गरेको विषय राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको छ ।

“अब त्यति गर्दा पनि बाइनान्सले नमानेको अवस्थामा हामीले कानूनी कदम पनि चाल्नुपर्ने हुनसक्छ,” कार्यकारी निर्देशक भट्टराई भन्छन्, “त्यस्तो बेलामा सम्बन्धित संस्थाले नै त्यसका लागि पहलकदमी लिने हो । त्यस्तो बेलामा आईएमई पेलाई कुनै किसिमको सहयोग गर्नुपर्‍यो, कुनै कुरा लेखिदिनुपर्‍यो भने हामी तयार हुन्छौँ ।”

नेपालमा गैरकानूनी घोषित क्रिप्टोकरेन्सी, बेटिङ, बाइनान्स जस्ता वेबसाइटबाट हुने कारोबारका लागि त्यस्ता प्लेटफर्महरूसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको खल्तीका सहसंस्थापक अमित अग्रवाल बताउँछन् । 

“बरु हामीले उल्टै राष्ट्र बैंक, सीआईबी आदिको रिफ्रेन्समा तिनीहरूलाई चेतावनी नै दिइरहेका हुन्छौँ । तर उनीहरूले अनौपचारिक माध्यमबाट प्रयोगकर्ता बनाएर नेपालीहरूलाई सहभागी बनाइरहेका छन्,” उनी भन्छन् ।

प्रयोगकर्ताले डिजिटल वालेटमार्फत आपसी लेनदेन गर्न सक्छन् । यस्तो पठाउने माध्यम कनेक्ट आईपीएस, आईएमई पे, खल्ती, ईसेवा, बैंक ट्रान्सफर जुनसुकै हुन सक्छ । तर कुन प्रयोजनका लागि रकम आदानप्रदान भएको हो भन्ने कुरा आफूहरूलाई थाहा नहुने अग्रवाल बताउँछन् ।

“मानौँ इन्स्टाग्रामबाट कसैले नेटफ्लिक्स अकाउन्ट बिक्री गर्न खोज्यो रे । त्यसका लागि उसले वालेटहरूसँग कुनै किसिमको सम्झौता गरेको हुँदैन । इन्टाग्राममा उसले नेटफ्लिक्स नै बेच्यो वा लुगा बेच्यो, त्यो हामीलाई थाहा हुँदैन,” उनी उदाहरण दिँदै भन्छन् ।

“एउटा प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई रकम पठाए जस्तै अन्तिममा भुक्तानी गर्दा खल्ती, आईएमई पे, ईसेवा वा अन्य कुनै वालेट प्रयोग हुन सक्छ । हो, अहिलेको बेटिङ र क्रिप्टोकरेन्सीको कारोबार पनि त्यसै गरी भइरहेको हुन्छ । यस किसिमका कारोबारका लागि वालेटसँग त्यस्ता व्यवसायको कुनै किसिमको इन्टिग्रेसन भएको हुँदैन ।”

“हामीले गर्न सक्ने भनेको बाइनान्स, बेट, क्रिप्टो जस्ता शब्दहरू कतै देखियो भने सम्बन्धित प्रयोगकर्ताको कारोबार नै ब्लक गरिदिने हो । यस बाहेक एउटै व्यक्तिले धेरै तिरबाट रकम प्राप्त गरिरहेको छ वा धेरै रकम आदान प्रदान गरिरहेको छ भने त्यसलाई रोक्ने हो ।” 

यस्ता वेबसाइट तथा एपहरूमाथि पोर्न साइटलाई जस्तै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाउनुपर्ने उनको जोड छ ।

“यस्ता साइटहरू राउन्ड रोबिन तरिकाले चलिरहेका हुन्छन्,” उनी यसलाई प्रष्ट्याउँदै भन्छन्, “पहिले वानएक्स बेटमा खल्तीलाई यसैगरी राखिएको थियो । हामीले लगातार रूपमा हटाउन चेतावनी सहित दबाब दिएपछि खल्तीलाई हटाएर सेलपेलाई राखे । त्यसपछि मोरुलाई दुरुपयोग गरे ।”

करोडौँ रुपैयाँ लगानी गरेर स्थापना भएका भुक्तानी सेवाप्रदायकहरूले यस किसिमको गतिविधि झुक्किएर पनि गर्न नसक्ने अग्रवालको तर्क छ । “यस किसिमका गतिविधि त हाम्रालागि टाउको दुखाई बनेका छन्,” उनी भन्छन्, “त्यस्ता गैरकानूनी वेबसाइटहरूमा हाम्रो वालेटको नाम र लोगो दुरुपयोग हुँदा त्यसबाट हाम्रो ब्रान्ड नै खस्किने काम भइरहेको छ ।”

यस किसिमका गतिविधि रोक्न नेपाल सरकारले नै बाइनान्स वा वानएक्स बेट जस्ता कम्पनीहरूमाथि मुद्दा चलाउन सक्नुपर्ने अग्रवालको सुझाव छ । “यस किसिमका गैरकानूनी कारोबारको लागि नेपालमै एकले अर्कोलाई भुक्तानी गर्ने र त्यसको समन्वय गर्ने कुनै व्यक्तिहरू परिचालित भएका हुन सक्छन्,” उनी भन्छन् ।

“त्यस्ता एजेन्टहरूले रकम सङ्कलन गरेर एकमुस्ट रुपमा हुन्डीको तवरबाट पैसा विदेश पठाइरहेका हुन सक्छन् । यस्ता सम्भावित गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउनुको विकल्प छैन ।” 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२