close

जासुसी गरेको भन्दै चिनियाँ टेलिकम कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

माघ १५, २०७८ १०:३२

जासुसी गरेको भन्दै चिनियाँ टेलिकम कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय सुरक्षाको बहाना देखाउँदै अमेरिकाले चिनियाँ टेलिकम कम्पनी ‘चाइना युनिकम’ माथि प्रतिबन्ध लगाएको छ ।

संघीय सञ्चार आयोग (एफसीसी) ले चाइना युनिकमकाे व्यवसाय सञ्चालन गर्ने अधिकार खारेज गर्न सर्वसम्मत रुपमा निर्णय भएको बताएको छ ।

कम्पनीले अमेरिकामा उपलब्ध गराएको टेलिकम सेवा ६० दिनभित्र बन्द गर्न पनि एफसीसीले निर्देशन दिएको छ ।

एफसीसीले उक्त कम्पनीले जासुसी गर्न खोजेको आफूहरूसँग प्रशस्त प्रमाण भएको बताएको छ । चिनियाँ राज्य-स्वामित्वका कम्पनीहरूले अमेरिकी दूरसञ्चार नेटवर्कहरूको सुरक्षामा वास्तविक खतरा खडा गरेको भन्दै यो निर्णय लिएको एफसीसीले जनाएको छ । 

यद्यपि बीबीसीसँग कुरा गर्दै चाइना युनिकमले भने आफ्नो अमेरिकी शाखाले विगतका दुई दशकमा ग्राहकका लागि भरपर्दो रूपमा अमेरिकी कानून र नियमहरूको पालना गर्दै सेवा दिएको दाबी गरेको छ ।

यस विषयमा वाशिङ्गटनमा रहेको चिनियाँ दूतावासले भने कुनै टिप्पणी दिएको छैन । 

पछिल्ला केही वर्षमा चिनियाँ प्रविधि र टेलिकम कम्पनीहरूलाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२