close

एप्पललाई टक्कर दिन आफ्नो पहिलो स्मार्टफोन ल्याउँदै नथिङ

टेकपाना टेकपाना

चैत १०, २०७८ १४:४८

एप्पललाई टक्कर दिन आफ्नो पहिलो स्मार्टफोन ल्याउँदै नथिङ

काठमाडौं । वनप्लसका सह-संस्थापक कार्ल पेईको कम्पनी नथिङको पहिलो स्मार्टफोन यसै अङ्ग्रेजी वर्षको तेस्रो त्रैमासिक अर्थात सेप्टेम्बरसम्ममा सार्वजनिक हुने भएको छ ।

यो फोन सार्वजनिक हुने विषय लामो समयदेखि चर्चामा छ । साथै फोनका फिचर समेत लिक हुन थालेका छन् । यो स्मार्टफोन एउटा कस्टम एन्ड्रोइड भर्सनका साथ आउने र त्यसलाई नथिङ ओएस नाम दिइने बताइएको छ ।

कार्ल पेईले एउटा भर्चुअल किनोट स्पिचमा फोन सार्वजनिक गर्ने विषयको खुलासा समेत गरेका छन् । ‘नथिङ फोन वान’ नाम रहने बताइएको उक्त स्मार्टफोन क्वालकम स्न्यापड्रागन एसओसीमा चल्नेछ ।

बुधबार नथिङको कार्यक्रममा कार्ल पेईले नथिङ फोन वान आगामी समर सिजनमा सार्वजनिक गरिने बताए । उनले बताएको समर सिजन नेपाल वा दक्षिण एसियाको नभई बेलायतको हो ।

जुलाई तथा अगस्टमा उक्त सिजन सुरु हुने गर्दछ ।  यसका लागि कम्पनीले एउटा ट्वीट समेत गरेको छ । जसमा भनिएको छ, ‘तपाईँले अनुमान गर्नु भएको छ र अब तपाईँ जानकार समेत हुन सक्नुहुन्छ । नथिङ फोन वान आधिकारिक रुपमा आउँदैछ ।’

कम्पनीले स्मार्टफोनको विषयमा अपडेट प्राप्त गर्नका लागि साइन गर्न एउटा लिङ्क समेत शेयर गरेको छ । नथिङ फोन वानमा रहने फिचर सम्बन्धी यकिन जानकारी भने आइसकेको छैन । 

यो स्मार्टफोन नथिङ ब्राण्डको दोस्रो उत्पादन हुनेछ । यसअघि कम्पनीले सन् २०२१ मै ब्लुटुथ हेडसेट नथिङ इयर (वान) ल्याएको थियो ।

कम्पनीले आफ्नै ब्राण्डमा विभिन्न विद्युतीय उपकरण निर्माण गरी छुट्टै इकोसिस्टम बनाउन खोजेको छ । यसर्थ नथिङले आफूलाई एन्ड्रोइड स्मार्टफोन वा अन्य विधाको बजारसँग मात्रै प्रतिस्पर्धामा सीमित नराखी एप्पलसँग प्रतिस्पर्धा गर्ने रणनीति लिएको छ ।

एप्पलले पछिल्लो समय विकास गरेको ‘युनिभर्सल कन्ट्रोल’ सुविधाजस्तै जस्तै नथिङले पनि आफ्ना उत्पादनहरुमा ‘इकोसिस्टम इन्टिग्रेसन’ गर्ने योजना राखेको छ । यसअन्तर्गत कम्पनीले आफ्नो स्मार्टफोनबाट नथिङ ब्राण्डका उत्पादनसँगै अन्य कम्पनीका उत्पादनलाई पनि कन्ट्रोल गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२