+
+

अनधिकृत संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर

४ वटा पक्की भवन र १७ वटा घर टहरा भत्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १३:४७

१७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो ।

ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा बनाइएका ४ वटा पक्की भवन तथा १७ वटा टहरामा डोजर लगाएर हटाइएको महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

‘ऐलानी जग्गामा केही मानिसहरु लामो समयदेखि बसिरहेका रहेछन्, पटक–पटक खाली गरिदिन आग्रह गरेपनि अटेरी गरे,’ उनले भने, ‘बाध्य भएर डोजर लगाएर घर टहरा हटाएका हौं ।’ नक्सासहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा छुट्याएको थियो ।

अतिक्रमण हटाउने क्रममा स्थानीयले अवरोध समेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा प्रहरी टोली पुगेपछि उनीहरु पछि हटेका थिए ।

महानगरले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न, भौतिक पूर्वाधार अतिक्रमण खाली गर्न समिति बनाएको छ ।

मेयर राजेशमान सिंहले सार्वजनिक जग्गा वा भवन अतिक्रमण भएको सूचना महानगरलाई जानकारी गराउन आग्रह गरे ।

यसअघि महानगरले वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ । चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?