close

‌‌यस्ता छन् नेपाली युवाले बनाएका उत्कृष्ट ५ मोबाइल गेम

टेकपाना टेकपाना

फागुन १७, २०७८ २१:३९

‌‌यस्ता छन् नेपाली युवाले बनाएका उत्कृष्ट ५ मोबाइल गेम

-गणेश सुवेदी

काठमाडौं । अहिले नेपालमा पनि मोबाइल गेमको क्रेज एकदमै बढेको छ । विशेषगरी युवा प्रयोगकर्ता गेमका पारखी छन् । यहाँ व्यवसायिक रुपमा गेम खेलेरै मनग्गे कमाउने गेमर पनि प्रशस्तै छन् ।

इन्टरनेट थप सर्वसुलभ हुँदैजाँदा गेमिङ उद्याेगले नयाँ स्वरूप लिएकाे छ । यस्तोमा प्रायले विदेशी गेम नै बढी खेल्ने गरेको पाइन्छ । तर नेपालमै विकास भएका केही गेमहरूले पनि निकै राम्रो लाेकप्रियता कमाइरहेका छन् ।

कतिपयलाई यसबारे थाहा नहुनसक्छ । आज हामी नेपाली डेभलपरले बनाएका उत्कृष्ट गेमहरूबारे चर्चा गर्दैछौँ । प्रयोगकर्ताले दिएको रेटिङ, प्रतिक्रिया र डाउनलोडका आधारमा हामीले यो सूची तयार पारेका हौँ । 

१. लुडो

धेरै नेपालीहरूले रुचाएको स्थानीय गेम हो, लुडो । यो गेम कम्प्युटरका साथै स्मार्टफाेनमा आफ्ना साथीभाइ, परिवार तथा आफन्तसँग मिलेर खेल्न सकिन्छ ।

यो गेममा अनलाइन भएका मानिससँग खेल्न मिल्ने सिस्टम भइदिएको भए त झन् सुनमा सुगन्ध हुन्थ्यो होला । कोरोना महामारीको समयमा नेपालसँगसँगै बाहिरी देशहरूमा पनि रुचाइएकाले यो गेम पाँच करोड भन्दा धेरै पटक डाउनलोड भएको छ ।

यसको फाइल आकार खासै ठूलो नभएकाले सस्ता स्मार्टफोनमा पनि सजिलै प्रयोग गर्न सकिन्छ । यसले गुगल प्ले स्टोरमा ४.३ स्टारको रेटिङ पाएको छ । लुडोका साथै यार्सा गेम्सले बनाएका तास सम्बन्धी गेमहरूले पनि प्रयोगकर्ताको मन राम्रैसँग जित्न सफल भएका छन् । 

२. नेपाल ड्राइभिङ लाइसेन्स कार बस एन्ड मोटरसाइकल टेस्ट

नेपाल ड्राइभिङ लाइसेन्स गेमबाट तपाईँले रमाइलोसँगै सिकाइ उपलब्धि समेत हासिल गर्नसक्नु हुन्छ । यो गेममा विभिन्न लेभलहरू छन्, जसमा तपाईँले कुनैमा सवारी साधनलाई अङ्ग्रेजी अङ्क एट (8) जस्तै चलाउनु पर्ने हुन्छ त कुनैमा दाँया बाँया मोड्नुपर्ने हुन्छ ।

यो गेममा पनि तपाईँले ‘गुड’, ‘बेटर’, र ‘बेस्ट’ गरेर तीन ओटा ग्राफिक्सको विकल्प पाउन सक्नुहुन्छ । यसमा समावेश गरिएको एमसीक्यू (Multiple Choice Questions-MCQ) र ट्राफिक चिन्हको अध्ययन गर्दा तपाईँलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षा उत्तीर्ण गर्न सहयोग पुग्छ ।

गेमको फाइल साइज जम्मा ४१ एमबीको मात्र भएकाले सस्ता तथा सामान्य स्मार्टफोनमा समेत यसलाई चलाउन सकिन्छ । यो गेम अहिलेसम्म ५० लाख भन्दा धेरै पटक डाउनलोड भइसकेको छ । ४.५ स्टार रेटिङ पाएको यो गेममा १९ हजारभन्दा धेरैले रिभ्यू दिएका छन् । यो गेम पनि यार्सा गेम्सले नै बनाएको हो ।

३. बाघचाल

बाघचाल खेलको बारेमा त तपाईँलाई भन्नै नपर्ला । सानोमा तपाईँ हामीले ढुङ्गा, जमिन वा कापीमा कोरेर खेल्दै हुर्केको खेल हो यो । तर अहिले हामीले यसलाई मोबाइलमा पनि खेल्न सक्छौँ ।

यसमा चार ओटा बाघ र २० ओटा बाख्रा हुन्छन् । यो गेम अफलाइनका साथै अनलाइन तथा ब्लुटुथ र ल्यान केबलको प्रयोग गरेर पनि खेल्न सकिन्छ ।

गेमको साइज जम्मा ११ एमबी मात्र भएकाले यसलाई पनि सस्ता स्मार्टफोनमा सजिलै चलाउन सकिन्छ । हालसम्म यो गेम एन्ड्रोइडमा मात्रै पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । ४.३ स्टार रेटिङ प्राप्त यो गेमलाई दुई हजार भन्दा धेरैले रिभ्यू दिएका छन् ।

४. अर्बन लेजेण्ड सर्भाइबल

‘अर्बन लेजेण्ड’ एक प्रकारको हरर अर्थात् खेल्दा डर लाग्ने गेम हो । यो गेमको अवधारणा प्राचिन समयको काठमाडौंमा आधारित छ । यसमा तपाईँलाई भूतहरूसँग जोगिएर निस्किनुपर्ने हुन्छ ।

गेमको ग्राफिक्सको कुरा गर्नुपर्दा यसमा तपाईँले ‘लो’, ‘मिड’ र ‘हाइ’ गरी तीन ओटा विकल्प पाउन सक्नुहुन्छ । जुन तपाईँले आफ्नो मोबाइलको क्षमताको आधारमा तय गर्न सक्नुहुन्छ ।

अर्बन लेजेन्ड सर्भाइबल गेमको साइजको कुरा गर्नुपर्दा ११० एमबी रहेको छ । अहिलेको समयमा कुरा गर्ने हो भने यो साइज पनि त्यति ठूलो चाहिँ होइन ।

अहिलेसम्म एक लाखभन्दा धेरै पटक डाउनलोड भइसकेको यो गेममा दुई हजारभन्दा रिभ्यू लेखिएका छन् । गुगल प्ले स्टोरमा यसको रेटिङ ४.६ स्टार रहेको छ ।

५. गोर्खाली ब्याटल

यो एउटा एक्सन गेम हो । जसमा हामी औसत किसिमको ग्राफिक्स पाउन सक्छौँ । यसमा तपाईँले ‘एनिमी’ (आफ्नो शत्रु) लाई मारेर बाँच्नुपर्ने हुन्छ । यो गेममा तपाईँले आफ्नो रुचि अनुसार गन (बन्दुक) परिवर्तन गर्दै एनिमीलाई मार्न सक्नुहुन्छ ।

गोर्खाली ब्याटल गेममा अहिले आठ ओटा लेभल मात्र उपलब्ध छन् । यो गेम अहिलेसम्म १० हजारभन्दा धेरैले डाउनलोड गरेका छन् भने छ सयभन्दा धेरैले रिभ्यू पनि दिएका छन् । यसको रेटिङको बारेमा भन्नुपर्दा यसमा ४.७ स्टार रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२