+
+

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १६:०१

१२ असार,काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता हुन् ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उनले दाबी गरे । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताए । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको उनको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आएका उनले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताएका थिए । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उनले अब समानुपातिकमा नबस्ने बताए । ‘समानुपातिकमा मात्रै कति बस्ने? अब प्रत्यक्ष चुनाव लड्छु ।’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मेरो बाँकी जीवन अब राजनीति नै हो । कांग्रेसकै राजनीति गर्छु ।’

सक्रिय राजनीतिमा आउन चाहेका उनी नवलपुर –२ को टिकट प्राप्त गर्नेमा पूर्ण आशावादी पनि देखिएका छन् । ‘नवलपुर–२ मा कांग्रेस हार्दै आएको ठाउँ हो । त्यो क्षेत्र पनि मेरा लागि उपयुक्त नै हुन्छ’, चौधरीले भने, ‘सक्रिय राजनीति गर्नकै लागि वडा वडामा पुगेको छु ।’

पार्टीमा संस्थापन पक्षका चौधरी टिकट प्राप्त गर्नेमा ढुक्क जस्तै देखिएका छन् । यस क्षेत्रमा दाबी गर्ने केन्द्रीय तहका नेता अन्य नभएकाले पनि उनका लागि थप सहज देखिएको छ ।

नवलपुर २ मा गत निर्वाचनमा एमालेका तिलबहादुर महत क्षेत्री विजयी भएका थिए । उनले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा बौदीकाली, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका सहित मध्यविन्दु नगरपालिका र कावासोतीका नगरपालिकाका ३, १४, १५, १६ र १७ वडा पर्दछन् ।

यो क्षेत्रमा पर्ने तीन गाउँपालिका मध्ये हुप्सेकोटमा मात्रै कांग्रेसले जितेको छ । बौदीकाली र विनयी त्रिवेणी गाउँपालिकामा एमाले विजयी भएको छ । मध्यविन्दु र कावासोतीको मेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

१४ औं महाधिवेशनमा चौधरी मधेसी कोटबाट केन्द्रीय सदस्य बनेका थिए । फरक फरक क्षेत्रमा सफल व्यक्तिहरुलाई पार्टीको केन्द्रीय तहमा आउने वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

विषयगत जानकार व्यक्तिले उपल्लो तहमा सिधै प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनले बताए । ‘सबै क्षेत्रका जानकार व्यक्ति पार्टी भित्र प्रतिस्पर्धा गर्न पाउनुपर्दछ । त्यसका लागि पार्टीको राजनीति गरेको वर्ष खोज्नुहुँदैन’, उनले भने ।

विज्ञता प्राप्त व्यक्तिहरुलाई कांग्रेसमा प्रवेश तथा प्रतिस्पर्धा गराउनका लागि पछिल्लो समय पार्टी केही खुकुलो भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?