close

उद्यमशीलता विकासका लागि नीतिगत अनुसन्धानमा सहयोग गर्दै वर्ल्डलिंक

टेकपाना टेकपाना

माघ २८, २०७८ १४:५६

उद्यमशीलता विकासका लागि नीतिगत अनुसन्धानमा सहयोग गर्दै वर्ल्डलिंक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले उद्यमशीलता विकासका लागि आवश्यक नीतिगत अनुसन्धानमा सहयोग गर्ने भएको छ । त्यसका लागि नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्द्धनमा काम गर्दै आएको संस्था दायित्व नेपाललाई सहयोग गर्ने भएको हो ।

वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपाल बीच सम्झौता भएको जनाइएको छ । 

नीति अनुसन्धान सम्बन्धी यस सम्झौतामा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा‍‌. पुकार मल्लले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला र शासन सुधार लगायतका विषयवस्तु मध्ये विश्वव्यापी प्रतिष्पर्धा मार्फत रिसर्च फेलो छनोट गरिनेछ ।

त्यसरी छनोट भएकाहरूले तीन देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सहसचिवस्तरका अधिकारीहरूको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन् । पाँच सांसद र सम्बन्धित मन्त्रालयका पाँच अधिकारीहरूको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिष्पर्धा गरिने दायित्व नेपालले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमीटेडका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पुऱ्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रवर्द्धनका लागि फेलोसिप सहयोग गरेको बताए ।

‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशीलता विकास गर्नका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्‍याउन सहयोग गरेका हौ ।’ उनले भने, ‘यसले नेपालमै उद्यम गर्नका लागि युवाहरूलाई प्रेरणा दिन सहयोग पुर्‍याउनेछ ।’

दायित्व नेपालका अध्यक्ष मल्लले वर्ल्डलिंक सँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक सुशासन अभिवृद्धिसँगै युवामाझ आशा, उत्साह र परिवर्तित सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२