close

नागरिक एपमा आयो लोकसेवाको आवेदन दिन सकिने सुविधा, शुल्क पनि मोबाइलबाटै तिर्न मिल्ने

टेकपाना टेकपाना

साउन १३, २०७९ १५:१५

नागरिक एपमा आयो लोकसेवाको आवेदन दिन सकिने सुविधा, शुल्क पनि मोबाइलबाटै तिर्न मिल्ने

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगमा ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नयाँ अपडेटसँगै एपमा लोक सेवा आयोगले लिने परीक्षाका लागि अनलाइन आवेदन दिने र त्यसको शुल्क समेत अनलाइनबाटै तिर्ने सुविधा थपिएको हो ।

यससँगै अब नागरिक एपबाटै लोक सेवा आयोगले खुलाउने सम्पूर्ण पदका लागि आवेदन दिन सकिने एपको व्यवस्थापन गरिरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकृतले  बताए । उनका अनुसार एन्ड्रोइड र आईओएस दुवै भर्सनका एपमा यो नयाँ अपडेट आइसकेको छ । 

यसका लागि लोकसेवा आयोगको वेबसाइटमा उपलब्ध ‘मास्टर आईडी’ खोल्न र लगइन गर्न मिल्ने व्यवस्था नागरिक एपमै दिइएको छ । जसले गर्दा लोकसेवा आयोगको वेबसाइटमा उपलब्ध सम्पूर्ण सेवा नागरिक एपमै पाउन सकिने भएको हो । 

त्यस बाहेक नागरिक एपमा आवद्ध भुक्तानी सेवाप्रदायकमार्फत लोकसेवा आयोगको आवेदन शुल्क समेत अनलाइनमै तिर्न सकिने सुविधा समेत उपलब्ध भएको छ । यससँगै अब लोकसेवा आयोगले खुलाउने सम्पूर्ण आवेदन नागरिक एपबाटै दिन सम्भव भएको हो । 

हाल अनलाइन भुक्तानीका लागि ईसेवा र खल्ती डिजिटल वालेट नागरिक एपमा आवद्ध भइसकेका छन् । यसअघि लोकसेवाको वेबसाइटबाट अनलाइन आवेदन  दिन सकिने भए पनि आवेदन शुल्क जम्मा गर्न बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।

नागरिक एपबाटै लोकसेवाको आवेदन दिन सकिने भएपछि फाराम भर्दा आवेदकको नाम, ठेगाना, मोबाइल नम्बर, फोटो, ईमेल स्वतः भरिएर आउनेछ । त्यसका साथै छुट्टै नागरिकता अपलोड गरिरहन समेत नपर्ने बताइएको छ । 

त्यस बाहेकका तालिम तथा शैक्षिक विवरण भने आवेदक आफैँले अपलोड गर्नुपर्नेछ । एपले गर्दा ल्यापटप वा कम्प्युटर नभए पनि मोबाइलबाट सहजै लोकसेवाको आवेदन भर्न सकिने भएको हो । 

यसका साथै लोकसेवाले प्रकाशित गरेका तथा आवेदन दिने समय बाँकी रहेका सूचना पनि नागरिक एपमै देख्न सकिने बताइएको छ । पछिल्लो अपडेटमा एपमा देखिएका केही ‘बग फिक्स’ (कमजोरी सुधार) समेत गरिएको छ ।

जसमा पुश नोटिफिकेसनले नजाने समस्या समेत समाधान भएको छ । यसबाट नागरिक एपबाट लिन खोजिएका सेवाहरू उपलब्ध हुँदा प्रयोगकर्ताले एपमै नोटिफेकसनमार्फत जानकारी पाउनेछन् ।

उदाहरणका लागि यदि तपाईँले पुलिस क्लियरेन्सका लागि प्रक्रिया अगाडि बढाउनु भएको छ भने सम्बन्धित प्रहरी कार्यालयले पुलिस रिपोर्ट ‘डिस्प्याच’ (जारी गर्नु) गर्ने वित्तिकै एपले नोटिफिकेसनमार्फत जानकारी दिनेछ । यसअघि भने नागरिक एपबाट लिन खोजिएको सेवाको स्थितिको जानकारीका लागि आफैँ जाँच गर्नुपर्ने अवस्था रहेको थियो । 

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३