close

विज्ञापन रहित सामग्रीका लागि सहकार्य गर्दै एप्पल र फेसबुक 

टेकपाना टेकपाना

साउन ३०, २०७९ १०:२

विज्ञापन रहित सामग्रीका लागि सहकार्य गर्दै एप्पल र फेसबुक 

काठमाडौं । लामो समयदेखि फेसबुक र एप्पलबीच एक प्रकारको मतभेद छ । यी दुई कम्पनी एकअर्कामा सहकार्यमा गएको अथवा एकअर्काको विषयमा बोलेको कुरा बिरलै सुन्न पाइन्छ ।

यद्यपि अब भने यी दुई कम्पनीबीच सहकार्य हुने भएकाे छ ।

एप्पलले सन् २०२० मा सम्पन्न आफ्नो ‘वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स’मा प्रयोगकर्तालाई एप प्रयोग गर्दा क्रस-एप एड ट्र्याकिङ गर्न दिने कि नदिने भन्ने विषयमा सोधिने घोषणा गरेका थियाे ।

यो विषयमा फेसबुकले भने विरोध जनाएको थियो ।

एप्पलले आईओएस १४.५ को अपडेटसँगै यो फिचर प्रयोगकर्तालाई उपलब्ध गरायो । यसपछि यी दुई कम्पनीबीच मतभेदका कारण सम्बन्ध राम्रो नभएको अनुमान गरिन्थ्यो ।

तर यो मतभेद धेरै लामो समयसम्म टिक्न सकेन ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारअनुसार फेसबुक र एप्पलले ‘रेभेन्यु शेयरिङ एग्रिमेन्ट’ अर्थात् आम्दानी एकअर्कामा बाँड्ने तयारी गरिरहेका छन् ।

प्रकाशित समाचारअनुसार यी दुवै कम्पनीले आफ्नो प्लेटफर्ममा विज्ञापनरहित सामग्रीका लागि सब्सक्रिप्सन सेवा उपलब्ध गराउन छलफल गरिरहेका छन् ।

यसमा एप्पलले आफ्नो ईन-पर्चेज सेवालाई निःशुल्क बनाउने अनुमान गरिएको छ । साथै एप्पलले पोस्टहरू बुस्ट गर्ने सेवालाई कटौती गर्ने तयारी गरिरहेको पनि उल्लेख गरिएको छ ।

फेसबुकले लामो समयदेखि आफ्ना प्रयोगकर्ताका लागि पोस्ट बुस्ट गर्ने सेवा दिइरहेको छ । विशेषगरी साना व्यवसायीहरूको लागि यो फिचर उपयोगी रहँदै आएको छ ।

यी दुई कम्पनीको सहकार्यबाट प्रयोगकर्तालाई के कति फाइदा हुनेछ, अथवा कम्पनीले अन्य के-कस्ता सुविधा ल्याउनेछन् भन्ने विषयमा भने विस्तृत जानकारी आउन बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३